काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको छ । पार्टी सभापति रवि लामिछाने र पदाधिकारीहरूले घण्टी बजाएर भेलाको उद्घाटन गरे ।

उद्घाटन समारोहमा सभापति लामिछानेले पार्टीको भविष्यका लागि निरन्तर संघर्ष गर्न आग्रह गर्दै, दुईतिहाइ बहुमत ल्याउने लक्ष्य राख्नुपर्ने बताए । उनले पार्टीलाई निरन्तर प्रहार र चुनौतीहरूको सामना गर्न तयार रहन आग्रह गरेका छन् । 

OM Sai Pathibhara Hospital

लामिछानेले इलाममा सङ्गठन र रणनीति बनाउने कमीका कारण पराजित भएको स्वीकार गर्दै आगामी निर्वाचनमा बहुमत ल्याउन सक्रिय भएर लाग्न अनुरोध गरेका छन् । उनले सहकारीसम्बन्धी संसदीय प्रतिवेदनको आधारमा आफूलाई लाञ्छित गर्नेहरू प्रमाण प्रस्तुत गर्न असमर्थ रहेको पनि दाबी गरेका छन् । 

राष्ट्रिय भेलामा आज विभिन्न प्रतिवेदन र प्रस्तावहरूमा छलफल हुने छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेश गर्नेछन् । भोलि सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्, र भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा र पहिलो महाधिवेशनको मिति तय गर्ने छ । 

भेलामा देशभरबाट १,५०० भन्दा बढी प्रतिनिधिहरू सहभागी छन् । प्रतिवेदन र प्रस्तावहरूको छलफल भोलि समूहगत रुपमा हुनेछ, र मिति र स्थान घोषणा पछि पहिलो महाधिवेशन सम्पन्न हुनेछ ।