काठमाडौं–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को समर्थनमा सरकार गठन गरे पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । 

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । त्यसपछि भदौ १४ गते औपचारिक रूपमा समर्थन फिर्ता लिएको थियो ।

OM Sai Pathibhara Hospital

हाल कोशी प्रदेशमा एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार छ । संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले यसअघि वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

कोशी प्रदेशसभामा ९३ सदस्य छन्, जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य छन् । त्यस्तै, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४, र जसपाका १ सांसद रहेका छन् । बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने कार्यतालिका छ, जसमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने छन् ।