काठमाडौं – माओवादी केन्द्रले संसद चलाउन सकारात्मक देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन् ।

बैठक आज अपराह्न १ बजे बस्ने गरी तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठकमा ‘तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित सशस्त्र सङ्घर्षलाई सत्तारुढ नेकपा (एमाले)का सांसदले ‘हिंसा’ का रूपमा टिप्पणी गरेपछि विवाद सिर्जना भएको हो ।

OM Sai Pathibhara Hospital

माओवादीले एमाले सांसद योगेश भट्टराईले हिंसा भनेर  असंवैधानिक शब्द प्रयोग गरेको’ भन्दै बैठक अवरुद्ध गर्दै आएको छ । माओवादी केन्द्रले संसद् बैठकमा प्रस्तुत भएको ‘माओवादी हिंसा’ भन्ने शब्द संसद्को रेडर्कबाट नहटाएसम्म बैठक चल्न नदिने बताउँदै आएको छ ।

आइतबारको बैठकमा माओवादी केन्द्रका सांसदहरूले नेकपा एमाले सांसद भट्टराईको ‘हिंसा’ शब्दप्रति आपत्ति जनाउँदै विरोध गरेका थिए । यही विवादले आइतबारको बैठक स्थगित भएको थियो । सभामुख देवराज घिमिरेसँगको छलफलमा माओवादी केन्द्रले भट्टराईले आत्मालोचना गर्नुपर्ने वा ‘हिंसा’ शब्दलाई संसद रेकर्डबाट हटाउनुपर्ने माग राखेको छ ।

त्यसपछि संसदको वर्षे अधिवेशन अन्त्यको प्रक्रिया अघि बढ्नेछ । आइतबार मन्त्रिपरिषदले अधिवेशन अन्त्य गर्न सिफारिस गरिसकेको छ । संसदको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र अन्य विधेयक र प्रतिवेदनहरू प्रस्तुत गर्ने कार्यक्रम छ।