काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् । 

काठमाडौंमा आज सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

थापाले चीनको सरकारले एकातिर सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने र अर्कोतिर वामपन्थीहरु मिल्नुपर्छ भन्दै हिँड्ने गरेको आरोप लगाए । 

उनले भने ‘म नेपाली काँग्रेसको कार्यकर्ता, चीनको सरकारले आएर के भन्छ भने सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्छ । त्यही चीनको सरकारको मान्छे फेरि एकछिन पछि दुई वटा वामपन्थी पार्टी मिल्नुपर्छ । मैले यता हेरे सरकार देख्छु, उता हेरे पार्टी देख्छु, अलमलमा पर्ने भएँ ।’ 

आफूले काँग्रेसको कार्यकर्ता भएर हेर्दा चीनको सो नीति बुझ्न नसकेको महामन्त्री थापाको तर्क छ । 

उनले नेपाललाई चीनले बुझ्न नसकेको र नेपालले पनि चीनलाई बुझ्न नसकेको कुरा शर्माको पुस्तक पढेपछि स्पष्ट हुने बताए ।