काठमाडौं- सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा भ्रम छर्ने अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाएका छन् ।
आज राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले माओवादी अध्यक्ष प्रचण्डले सत्ताबाट बाहिरिने बित्तिकै जथाभावी बोल्ने काम गरेको भन्दै आपत्ति जनाए ।

दाहालले मुलुक बंगलादेश र श्रीलंका हुने चेतावनी दिएर जनतामा भ्रम छर्ने प्रयास गरेको जिकिर गर्दै सांसद श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रताको नाममा जथाभावी बोल्दै हिँड्ने काम नगर्न चेतावनी समेत दिए ।
श्रेष्ठले भने, ‘सरकारबाट निस्कन पाएको छैन-बंगलादेश र श्रीलंका भन्छौं । अनि त्यसको हिजोसम्मको दोषको भागी लिने न नलिने ? यस्ता अभिव्यक्तिहरुले नेपाली जनतामा भ्रम सृजना गर्छ । त्यो भ्रम सृजना गर्ने काम हामी नगरौं ।’
प्रजातान्त्रिक मुुलुकहरुमा सय दिन पनि नपुग्दै सरकारको विरोध गर्नु, उसको काममा अवरोध गर्ने प्रयास गर्नुलाई उचित मान्न नसकिने उनको भनाई छ ।
सांसद श्रेष्ठले आफू सरकारमा हुँदा भएको गल्तीको जिम्मेवारी दाहालले पनि लिनुपर्ने बताएका छन् ।