झापा— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार नै छोड्नुपरेको बताएका छन्।


आइतबार बिहान झापाको बिर्तामोडमा प्रचण्डले गिरिबन्धु टी स्टेटको जग्गा समस्या समाधान समितिको ज्ञापनपत्र बुझ्दै यस्तो दावी गरे । 


गिरीबन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ विघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने बताए।


आइतबार बिहान सोही ५१ विघा जग्गामा भारतीय दूतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयवासीले पूर्वप्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका थिए।


स्थानीयवासीको ज्ञापनपत्र बुझ्दै दाहालले स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल हुने बताए। उनले भने, ‘सायद मैले यिनै बेथिति र विचलनकाबिरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्ने बाध्यता पनि त्यसैबाट सिर्जना भयो। तर अब सडकबाट भए पनि, सदनबाट भएपनि, सरकारबाट भए पनि तपाईंहरुलाई न्याय दिलाउनेछु।’


 ‘मर्निङ वाक’मा निस्केका दाहाललाई स्थानीयले ज्ञापनपत्र बुझाएपछि उनले स्थानीयलाई न्याय दिन आफू लागिपर्ने बताए।