काठमाडौं— कमजोर भूबनोटका कारण काठमाडौं उपत्यका भासिने क्रम बढेको छ । यसको उदाहरणका रुपमा विभिन्न ठाउँमा भासिएका सडकको अवस्थाले देखाएको छ । कमजोर भूबनोट र अस्तव्यस्त संरचनाले सडक भासिन थालेपछि मानवीय त्रुटिका कारण उपत्यका भासिने डर बढ्न थालेको छ । 

यी हुन् उपत्यकाका भासिएका १० सडकखण्ड :  

OM Sai Pathibhara Hospital

- शनिबार (२९ भदौ) ललितपुरको कुपन्डोलस्थित मुख्य सडक भासिएको छ। शनिबार दिउँसो खानेपानीको पाइप फुटेपछि सडक भासिएको हो। पानीले वरिपरिको माटो बगाएपछि सडक एक मिटर भासिएको छ।


- गत २ भदौमा बानेश्वरबाट शंखमूलतर्फ जाने सडकको बिचमा भ्वाङ पर्‍यो। करिब १० फिट गहिरो भ्वाङ परेपछि एकतर्फी रूपमा सडक सञ्चालन भयो। काठमाडौं महानगरपालिकाको सोही दिन साँझ नगर प्रहरीले सडकको भ्वाङ टाल्यो। खानेपानीको पानी लिकेज भएर सडक भासिएको महानगरको दाबी छ। 


- गत २५ साउनमा पुतलीसडकस्थित काठमाडौं महानगर कार्यालय सामुन्नेको मुख्य सडक भासियो। काठमाडौं प्लाजा छेउको सडक भासिएपछि एक महिनादेखि सवारी ओहोरदोहोर बन्द गरिएको छ। अन्य स्थानमा जस्तै सडक किन भासियो भनेर अध्ययनविनै सडक विभागले टालटुल गर्ने तयारी गरेको छ।


- गत २४ साउनमा ललितपुरको इमाडोलमा सडक भासियो। महालक्ष्मी नगरपालिका–३ बाक्लोगाउँनजिकै सडक भासिँदा केही दिन सवारीसाधन ओहोरदोहोरमा समस्या भयो। सडकमा परेको करिब तीन मिटर गहिरो भ्वाङ दुई दिनपछि मर्मत भयो। उक्त सडक भासिनुको कारण भने पत्ता लागेन।

Road_2


- गत ३१ असारमा ठमेल सोह्रखुट्टेस्थित नयाँ बजारमा सडक भासियो। सोह्रखुट्टेबाट बालाजु जाने मुख्य सडक भासिएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो। यहाँ त सडक भासिँदा मोटरसाइकल नै खाल्डोभित्र खस्यो। उक्त सडक भासिएको ठाउँबाट पानी आइरहेको थियो। सडक भासिनुको कारण खोजबिन नगरी केही दिनपछि सडक विभागले सडक टाल्यो।


- १२ माघ ०८० मा काठमाडौंको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासियो। सडक भासिँदा गुड्दै गरेको बा.३ख ३७६२ नम्बरको बस फस्यो। पछि क्रेन ल्याएर उक्त बस निकालियो। सडक भासिएको दुई दिनपछि मर्मत त भयो, तर के कारणले भासियो भन्नेबारे अध्ययन भएन।


- साउन ०७९ मा ललितपुरको चाकुपाटस्थित सडकमा भ्वाङ पर्‍यो। बागमती नदी कोरिडर हुँदै युएन पार्कबाट पाटनढोकातिर जाने (चाकुपाट क्षेत्र) सडकमा भ्वाङ परेपछि यातायात आवागमन बन्द गरियो। यहाँको सडक पनि के कारणले भासिएको हो भन्ने कसैले खोजबिन गरेनन्। नयाँ बानेश्वरमा जस्तै यहाँ पनि सडक विभागले भोलिपल्ट भ्वाङ टाल्यो। घटना सामसुम भयो। 


- कात्तिक ०७८ मा नयाँ बानेश्वरको मूल सडक एक्कासि भासियो। सिभिल अस्पतालअगाडिको सडकमा ठुलो भ्वाङ परेपछि प्रशासनले सवारी सञ्चालनमा रोक लगायो। आठ लेन सडकको मुख्य लेन नै भासिए पनि त्यसबारे ठोस अध्ययन भएन। सडक विभागले खानेपानीको पाइप लिकेज भएर सडक भासिएको भन्दै टालटुल गर्‍यो।