काठमाडौं–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने योजनाबाट नेपाली कांग्रेस र नेकपा एमाले आफैं पछि हट्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले उपसभामुखले गरेको त्रुटि पद नै गुमाउनुपर्ने खालको नभएको बताए ।
उपसभामुख राना एउटा इमान्दार, जनजाति महिला भएको भन्द उनले केही प्राविधिक त्रुटि गरेपनि तर त्यसको सजाय पदबाट हटाउनेसम्म जान नहुने उनको तर्क रहेको छ । उपसभामुख रानामाथि अमेरिकामा पाँच जनाको अन्तर्वार्ता सहजीकरण गरेको आरोप थियो, जसलाई लिएर उपसभामुखलाई हटाउने चर्चा चलेको थियो।

यस्तै, प्रचण्डले जनयुद्धलाई एमाले सांसद योगेश भट्टराईले ‘हिंसा’ भनेर उल्लेख गरेको विषयमा माओवादीले कडा आपत्ति जनाउँदै यो बहस टुंगिएसम्म संसद् चल्न नदिने बताएका छन् । उनले जनयुद्धलाई हिंसा भनेर अपव्याख्या गर्ने र भ्रम फैलाउने काम भइरहेको आरोप लगाए ।
उनले राजनीतिमा ‘एक्जिट’ नभएको र सच्चा राजनीतिज्ञहरूले मरेपछि पनि राजनीति गरिरहन्छन् भन्ने धारणा व्यक्त गरेका छन् । संवैधानिक पदको सिफारिसका सन्दर्भमा, प्रचण्डले सबै रिक्त पदहरू एकैपटक सिफारिस गर्न उपयुक्त हुने बताएका छन् ।