काठमाडौं- सत्ता नेतृत्वकर्ता दल नेकपा (एमाले)ले पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ ।

आज पार्टी मुख्यालय च्यासलमा आयोजित सचिवालय बैठकले आगामी कार्तिक भित्र बाँकि रहेका जिल्ला अधिवेशनहरु सम्पन्न गरिसक्नेसहित १८ विषयवस्तु समेटिएको कार्ययोजना पारित गरेको हो । 

OM Sai Pathibhara Hospital

कार्ययोजनामा मंसिरभित्र सबै तहका कमिटीहरुको अधिवेशन सम्पन्न गरिसक्ने उल्लेख गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए । 

कार्ययोजनामा पाटीलाई २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी अघि बढाउने भनिएको छ । त्यसैगरी पार्टीमा युवा परिचालन गर्नका लागि ४० वर्ष भन्दा मुनिका युवाहरुलाई समेटेर युथ समिट आयोजना गर्ने निणर्य पनि गरिएको छ । 

राष्ट्र निर्माणका लागि युवाहरुलाई परिचालन गर्ने उद्देश्यका साथ एमालेले आफ्नो नेतृत्वमा सो सम्मेलन आयोजना गर्ने कुरालाई वार्षिक कार्ययोजनामा समावेश गरेको महासचिव पोखरेलले बताए । 

एमालेले समावेश गरेको १८ वटा विषयबस्तुसहितको कार्ययोजनामा सबै कमिटीहरुको कार्यालय व्यवस्थित बनाउने, सोसल मिडियालाई अनिवार्य रुपमा जोडने र हरेक पार्टी कमिटीले सोसल मिडिया नेटवर्क निर्माण गरेर आफ्नो प्रचारलाई व्यवस्थित गर्ने कुरामा जोड दिइएको छ । 

त्यसैगरी पार्टी प्रवेश गरेका र  विभिन्न कमिटीका अधिवेशनहरु विदा भएकाहरुका लागि ३ महिना भित्र पार्टीको तर्फबाट यथोचित जिम्मेवारी दिने सन्दर्भमा सम्बन्धित कमिटीले गृहकार्य गर्ने योजना बनाइएको छ । 

एमालेले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर गर्ने भनिएका बाँकि कामहरु पनि सम्पन्न गर्ने कुरालाई पनि कार्ययोजनामा समावेश गरेको छ ।