जनकपुरधाम - मधेश प्रदेश सभाको बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल चलिरहेकै समय सांसदहरु बाहिरिएपछि गणपुरक संख्या अपुग भएको हो ।
आज बसेको प्रदेशसभा बैठकमा खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जैसवालले समितिको प्रतिवेदनसहितको विधेयक प्रदेशसभामा छलफलका लागि पेश गरेका थिए ।

सो विधेयकमाथि छलफल चलिरहकै समयमा सांसदहरु बाहिरीएपछि बैठक अवरुद्ध भएको हो ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले सदनमा गणपुरक संख्या नरहेको भन्दै नियमापति जनाएपछि चलिरहेको बैठकलाई सभामुख रामचन्द्र मण्डलले स्थगित गरे ।
विधेयकमाथि छलफलका क्रममा सत्तापक्ष जनमत पार्टीका प्रमुख सचेतक महेशप्रसाद यादव बोलिरहँदा जसपा नेपालका प्रमुख सचेतक यादवले गणपुरक संख्या नरहेको भन्दै नियमापत्ति जनाएका थिए ।
त्यसपछि सभामुख मण्डलले शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका हुन् ।
प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेशसभामा रहेका कुल सांसदको एक चौथाई सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ ।
मधेस प्रदेशसभामा हाल १०६ जना प्रदेशसभा सदस्य कायम रहेकाले त्यसको एक चौथाई अर्थात कम्तिमा २७ जना सांसद उपस्थित हुनुपर्नेमा सो संख्या भन्दा पनि कम सांसद बैठकमा उपस्थित थिए ।
आजको प्रदेशसभा बैठकमा सुरुमा ७२ जना नै सांसद उपस्थित थिए तर बैठक सञ्चालन भएको केही घण्टामै उनीहरु बाहिरिएपछि गणपुरक संख्या अपुग भएको हो ।