काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूणर् तयारी पूरा भएको जनाएको छ ।

पार्टी केन्द्रिय कार्यालयमा आज पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनका क्रममा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने जानकारी दिए । 

OM Sai Pathibhara Hospital

उनले नयाँ राजनीतिक दल भएकाले प्रतिनिधिको चाप रहेको र १५ सय प्रतिनिधिहरु उपस्थित रहने गरी व्यवस्था मिलाएको भन्दै केन्द्रिय समितिदेखि पालिकाको प्रतिनिधिसम्म राष्ट्रिय भेलामा अटाउन कोशिस गरिएको बताए । 

करिव ४ सय पालिकामा पार्टीको संरचना बनेको र २ हजार भन्दा बढी वडाहरुमा संरचना बनेको रास्वपाको दाबी छ । वडाबाट प्रतिनिधत्व ल्याउन सक्ने अवस्था नरहेको र पालिकाको तर्फबाट प्रतिनिधि छनोट भएर आउने गरी व्यवस्था गरेको बताइएको छ । 

‘हामीलाई नयाँ पार्टी पनि भएको र एउटा उत्साह पनि भएको हिसावले प्रतिनिधिहरुको चाप छ । त्यो हलको क्षमता १३ सय ५० भन्दा बढी धान्न नसक्ने छ । तथापि १५ सय जति हामीले अपेक्षा गरेका छौँ । केन्द्रिय समितिदेखि पालिकाको प्रतिनिधिसम्म राष्ट्रिय भेलामा अटाउन कोशिस गरेका छौँ, बुर्लाकोटीले भने, ‘हाम्रो करिव ४ सय पालिकामा पार्टीको संरचना बनेको छ । पालिकाको तर्फबाट प्रतिनिधिहरु छनोट भएर आउने गरी व्यवस्था गरेका छौँ ।’

रास्वपाले उपत्यका बाहिरबाट आउने प्रतिनिधिका लागि आवास र यातायातको व्यवस्था हुने जनाएको छ । राष्ट्रिय भेलाको तयारीका लागि १५ वटा उपसमिति गठन भएको र केन्द्रिय समितिका सदस्यहरुले नेतृत्व गर्नेगरी उपसमिति बनाएर काम गरिएको उनले बताए ।