काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणअघि संसदलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बजगाईंले यसबारे जानकारी गराएका हुन् । उनका अनुसार आगामी ४ असोजमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएकाले सोही भ्रमणबारे संसदलाई जानकारी गराउन सम्बोधन गर्न लागेका हुन् । 

 महासभा १० सेप्टेम्बरदेखि २८ सेप्टेम्बरसम्म हुनेछ, र यस महासभामा सहभागी हुन प्रधानमन्त्रीले २२-२३ सेप्टेम्बरमा ‘समिट अफ द फ्युचर’ मा सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । प्रधानमन्त्री ओलीको तेस्रो पटक प्रधानमन्त्री बनेपछि यो पहिलो विदेश भ्रमण हुनेछ। भ्रमण दलमा प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, नीजि सुरक्षा अधिकारी, श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य, स्वास्थ्य टीम र एकजना फोटोग्राफर समावेश हुनेछन्।