काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बसेको छ‚ जसमा सरकार र संसद्को कामलाई थप प्रभावकारी‚ सन्तुलित र व्यवस्थित बनाउने सहमति भएको छ।
बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सत्ता पक्ष कसरी एकीकृत रूपमा अघि बढ्ने भन्नेबारे छलफल भएको जानकारी दिए। साथै‚ कांग्रेस र एमालेबीचको सात बुँदे सहमतिका आधारमा न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको उनले बताए।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संविधान संशोधनलाई भ्रमपूर्ण रूपमा प्रस्तुत गरेको विषयमा बैठकमा समीक्षा भएको जानकारी दिएका छन्।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली‚ शेरबहादुर देउवा‚ अशोककुमार राई‚ महन्थ ठाकुर‚ रञ्जिता श्रेष्ठ र अब्दुल खानलगायत नेताहरू सहभागी भएका थिए।