काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलता नै आर्थिक समृद्धिको आधार भएको स्पष्ट पारेका छन् । नवलपुरबाट भेट्न आएका उद्यमीले उत्पादन गरेको मह कोसेली लिँदै प्रधानमन्त्री ओलीले उद्यमशीलताको महत्वमा जोड दिएका हुन ।
प्रधानमन्त्री ओलीले भेटघाटका क्रममा ग्रामीण स्तरमा हुन सक्ने उद्यमशीलताका सम्भावनाबारे पनि छलफल भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले सरकारले युवाहरूलाई उद्यमशील बनाउनका लागि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिरहेको र २५ लाख रुपैयाँसम्मको बिना धितो ऋण उपलब्ध गराएको जानकारी समेत गराएका छन् ।
प्रधानमन्त्री ओलीले फेसबुकमार्फत लेखेका छन, ‘नवलपुरबाट भेटघाटको लागि आउनु भएका साथीहरुले आफैंले उत्पादन गरेको मह कोसेली लिएर आउनु भएको रहेछ। मह पाएकोमा भन्दा उहाँहरूको उद्यमशीलतामा खुसी लाग्यो ।
उद्यमबिना हाम्रो आर्थिक स्तर माथि जान सक्दैन। ग्रामीण स्तरमा हुन सक्ने उद्यमशीलताको विषयमा पनि कुरा भयो। अहिले सरकारले उद्यमशीलताको लागि युवाहरुलाई २५ लाखसम्म बिना धितो ऋण दिन थालेको छ। यसका लागि उहाँहरूले धन्यवाद दिनु भयो । उहाँहरूलाई पनि धन्यवाद ।’





































