काठमाडौं–सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रकाशशरण महत छन् भने‚ एमालेबाट उपमहासचिव द्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्।

कार्यदलले न्यूनतम साझा कार्यक्रमबारे अन्य सत्तारूढ दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास‚ बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा‚ गृहमन्त्री रमेश लेखक‚ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा‚ एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल‚ महासचिव शङ्कर पोखरेल सहभागी थिए । 

छलफलमा सरकारका कामकारबाहीको समीक्षासँगै थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।  सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सहमतिअनुसार‚ एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।