काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी असोजदेखि पार्टी प्रवेश अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८१ साललाई ‘पार्टी प्रवेश वर्ष’ को रूपमा मनाउने निर्णय गर्दै, स्वदेश र प्रवासमा पार्टीप्रति देखिएको आकर्षणलाई संगठनमा रूपान्तरण गर्ने उद्देश्यका साथ अभियानको घोषणा गरेको हो ।

वडादेखि माथिल्लो तहसम्मका अधिवेशनका लागि तोरणबहादुर गुरुङको अध्यक्षतामा केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिएको छ । राप्रपाले चाबहिलमा आफ्नो भवन निर्माण गर्न दिनेश श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ ।

साथै, सर्वोच्च अदालतले काठमाडौंका खोला किनारमा संरचना हटाउन गरेको आदेशबारे छलफल गर्दै नागरिकको निजी सम्पत्तिमा खलल नपुग्ने गरी क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने राप्रपाको दृष्टिकोण बैठकले व्यक्त गरेको छ ।