काठमाडौं – नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस)‚ २०८१ को अवसरमा तीन दिनसम्म विशेष कार्यक्रम गरी भव्य रूपमा मनाउने निर्णय गरेको छ। संविधान दिवस असोज ३ गतेको ऐतिहासिक दिनलाई स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन भएका छन्।

समितिले असोज २‚ ३‚ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। संविधान दिवसका दिन असोज ३ मा विशेष समारोहको आयोजना हुनेछ। असोज २ मा संविधानका विषयमा केन्द्रित विशेष संवाद‚ परिसंवाद‚ रेडियो नाटकजस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन हुनेछन्।  

OM Sai Pathibhara Hospital

संविधान दिवसको प्रचारप्रसारका लागि राष्ट्रियस्तरका सञ्चार माध्यमहरूलाई विशेषाङ्क प्रकाशन गर्न अनुरोध गरिने छ। रेडियो‚ टेलिभिजन‚ तथा अन्य सञ्चार माध्यमहरूबाट संविधानको महत्वसम्बन्धी कार्यक्रम प्रसारण गरिनेछ। साथै‚ सबै सरकारी तथा गैरसरकारी कार्यालयमा दीप प्रज्वलन‚ राष्ट्रिय झन्डा सजावट‚ र राष्ट्रभक्तिका साङ्गीतिक महोत्सव आयोजना गरिनेछ।

असोज ३ मा नेपाली सेनाद्वारा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुनेछ। बिहान सूर्योदयसँगै बिगुल बजाइने र तोप तथा बन्दुकको बढाइँ गरिनेछ। नेपाली सेनाका हेलिकप्टरबाट ॅसंविधान दिवस‚ २०८१’ अङ्कित ब्यानर प्रदर्शनी र पुष्पवृष्टि पनि गरिने कार्यक्रम रहेको छ। 

विदेशस्थित नेपाली दूतावासहरूमा पनि संविधान दिवसको अवसरमा राष्ट्रिय झन्डा फहराउने र साँझ दीपावली गरिनेछ। विभिन्न स्तरमा जनसहभागिताका लागि विविध कार्यक्रमहरू तय गरिएको छ।