काठमाडौं- पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक रहेको बताएका छन् । 

आज काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले अहिलेको परिस्थितिमा पुनः एक पटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन जरुरी रहेको बताए । 

OM Sai Pathibhara Hospital

सापकोटाले विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको भन्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन आवश्यक रहेको जिकिर गरे । 

उनले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको उल्लेख गर्दै सबै एकतावद्ध अघि बढ्न आवश्यक रहेको बताए । नेपाल नेपालीहरुको भएकाले नेपालीहरुले नै चलाउनुपर्ने उनको भनाई छ । 

‘राष्ट्रियताको सवाल असाध्यै धेरै पेचिलो भएको छ र हामीले भन्नुपर्छ, सबै एकतावद्ध भएर नेपाल नेपालीहरुको हो । नेपाल नेपालीहरुले चलाउनुपर्छ’, सापकोटाले भने, ‘हामी कसैको हैकम मान्नेवाला छैनौँ । हामी विश्वशान्तिको पक्षमा दृढतापूर्वक खडा हुनेछौँ भनेर राष्ट्रियताको सवालमा हामीले भन्नुपर्नेछ ।’

उनले अहिले विश्वयुद्धको खतरा मडारिरहेको भन्दै त्यो आँधीबेहरीका लागि तयार हुनुपर्ने जिकिर समेत गरे ।