काठमाडौं- संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटी तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भिर त्रुटी गरेको निष्कर्ष निकाल्दै आम जनता र सम्बन्धित विद्यार्थीहरुलाई विश्वासमा लिएर सच्याउन निर्देशन दिएको हो । 

OM Sai Pathibhara Hospital

सो परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भिर त्रुटी आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए । 

समितिले सो सम्बन्धमा तत्काल छानविन समिति गठन गरी १० दिन भित्र सो प्रतिवेदन समितिमा पेश गर्न पनि सरकारलाई सचेत गराएको छ । 

बैठकमा समिति सदस्यहरुले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि नै खेलवाड गर्नेगरी परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए । 

यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले सो गम्भिर त्रुटी गरेको औंल्याउँदै त्यसलाई छानविन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।