काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुई दलिय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन् । 

बुधवार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

पार्टी कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्दै पार्टी एकतावद्ध भएर अगाडी बढ्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड रहेको सापकोटाको भनाई छ । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता सापकोटाले अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई समाहित गर्दै अघि बढ्नुपर्ने बताएको जानकारी दिए । 

त्यस्तै संसदमा माओवादी केन्द्रको भुमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि दाहालले जोड दिएको उनको भनाई छ । 

सापकोटाले भने ‘अध्यक्ष प्रचण्डले भन्नुभयो, भूराजनीतिक स्थितिले गर्दाखेरी राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको छ । राष्ट्रियता, जनजिविकाका सवालहरु दिन प्रतिदिन पेचिलो बन्दै गएका छन् । यस्तो परिस्थितिमा हामीले नयाँ विचारको विकास गर्दै यो जटिल परिस्थितिलाई चिर्नका लागि, चुनौतीको सामना गर्नका लागि पार्टीलाई एकतावद्ध बनाउने, सुदृढ गर्ने र जनदिशा लागू गर्ने । जनताका समस्याहरुको तथ्यांक संकलन गर्ने । सदनलाई प्रभावकारी बनाउने । अन्तरक्रिया छलफल गर्ने । सरकारले पहिलेका सरकारले गरेका सुशासन, समृद्धिका कुराहरुलाई उल्ट्याउने खालको स्थिति बनाइरहेको छ । अब जनताको हक अधिकार खोसिने आशंका भएको छ । जनतामा आक्रोश पनि बढिरहेको छ । जनता सरकारका क्रियाकलाप, रवैयाप्रति असन्तुष्ट हुँदै गएको छ भनेर अध्यक्षले भन्नुभयो ।’

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रवक्ता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधान विपरित भएको पनि बताए । 

‘उहाँ देशको प्रधानमन्त्री हो । एउटा पार्टीको अध्यक्ष पनि हो । त्यो कुरा बोल्नु सरासर संविधान विपरित छ । सहमती विपरित छ । संविधानमा सशस्त्र सङ्घर्ष भनिएको छ । वृहत शान्ति सम्झौतामा पनि सशस्त्र सङ्घर्ष भनिएको छ । बाह्र बुँदे समझदारीको बिरुद्धमा बोल्नुभएको छ । बृहत शान्ति सम्झौताको पनि विरुद्धमा बोल्नुभएको छ ।’ सापकोटाले भने । 

प्रवक्ता सापकोटाले सरकारको गतिविधिका कारण यो सरकार दलाल पुँजिपती, विचौलिया र माफियाहरुको पक्षमा छ भन्ने स्पष्ट भएको बताएका छन् ।