काठमाडौं- सत्ता नेतृत्वकर्ता दल नेकपा (एमाले)ले पार्टीले बुझाएको ध्यानाकर्षण पत्र कार्यान्वयनका लागि सरकारलाई दबाब दिने भएको छ ।

आज पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी पोलिटब्युरो बैठकमा महासचिव शंकर पोखरेलले पेश गर्नुभएको वार्षिक कार्ययोजनामा सो विषयमा पहलकदमी लिने उल्लेख छ । 

OM Sai Pathibhara Hospital

पार्टीले २०८१ साल साउन ४ गते सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र, झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रामा प्राप्त सुझाव र तत्कालीन सरकारलाई बुझाइएको विषयहरुको कार्यान्वयनमा निरन्तर पहल गर्ने विषय कार्ययोजनामा रहेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्दप्रसाद गौतमले जानकारी दिए । 

त्यसैगरी कार्ययोजनामा कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने, पार्टीको युवा परिचालन नीतिलाई प्रभावकारी रुपमा अघि बढाउने, पार्टी मुख्यालय भवन निर्माणका लागि समिति बनाएर त्यस कामलाई अघि बढाउने, पार्टी कमिटीको नै मूल्यांकन विधिलाई अघि बढाउनेलगायतका एजेण्डाहरु समावेश गरिएको छ । 

सरकारले गरेका राष्ट्रिय हित र जनसरोकारका विषयहरुलाई जनतामा स्थापित हुने गरी लैजाने विषयलाई पनि पार्टीले जोड दिएको प्रचार विभाग प्रमुख गौतमले बताए । 

वार्षिक कार्ययोजनामाथि वृहत छलफल गर्नेगरी भोलि बिहान ११ बजे पोलिट ब्युरो बैठक आह्वान गरिएको छ । प्रस्तुत कार्ययोजनामा मुलतः पार्टी सदस्यता नविकरण, त्यसको विस्तार, अभिलेखीकरणको विषय समावेश गरिएको जनाइएको छ । 

त्यसको अतिरिक्त नियमित पार्टी कमिटीहरुका र जनसंगठनका नियमित रुपमा सञ्चालन हुने अधिवेशनहरु आयोजना हुने कुरा र त्यसलाई व्यवस्थापन गर्ने कुरा योजनामा उल्लेख गरिएको छ ।