काठमाडौं- संसदीय सुनुवाई विषेश समितिमा प्रस्तावित राजदुतहरुको सुनुवाई जारी रहेका बेला सरकारले गरेको राजदुत सिफारिस समावेशी नभएको भन्दै यस विषयमा कुरा उठेको छ ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सदस्यहरुले यस विषयमा कुरा उठाएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले माफी माग्नु भएको छ ।

मंगलवार समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री राणाले राजदुत सिफारिस समावेशी नभएको स्वीकार गर्दै माफी मागेकी छन् ।
राजदुत नियुक्ति जति समावेशी हुनुपर्ने हो, त्यो नभएको भन्दै उहाँले एउटा राजदुत पद खाली भएको र त्यसमा मधेशी समुदायलाई प्रतिनिधित्व गराउने विषयमा आफूले प्रयास गरिरहेको बताइन् ।
सरकारले दलित र मुस्लिम समुदायलाई राजदुतमा सिफारिस गर्न चाहे पनि त्यसका लागि प्रस्तावित उम्मेदवारको रुपमा कोहीले पनि दाबी नगरेको राणाको भनाई छ ।
बैठकमा सांसदहरुले राजदुत नियुक्ति समावेश नभएको भन्दै त्यसलाई आगामी दिनमा सच्याउन अघि बढन परराष्ट्रमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।
राजदुत सिफारिस समावेशी नभएको भन्दै यसअघि संसदीय सुनुवाई समितिमा पनि उजुरी नै परेको थियो ।