पोखरा — संघमा सत्ता गठबन्धन फेरबदल भएको करिब डेढ महिनापछि एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएको छ । 

मन्त्रालयको भागबन्डाका विषयमा कांग्रेस र एमालेबीच देखिएको विवाद मन्त्रालय फुटाउने सहमतिमा टुंगिएपछि एमाले चार मन्त्रालयसहित सरकारमा सहभागी भएको हो ।

OM Sai Pathibhara Hospital

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका छन् । गण्डकीमा एमालेलाई समेट्नका लागि मन्त्रालयको संख्या ७ बाट ९ बनाइएको थियो । 

एमालेबाट पद्मा जिसीको नेतृत्वमा सरकारमा सहभागी भएको हो । जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । 

त्यस्तै प्रकाशबहादु केसीले भौतिक पूर्वाधार तथा यातायात, मित्रलाल बस्यालले उद्योग र पर्यटन तथा कृष्ण पाठकले स्वास्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेकी केन्द्रीय लेखा आयोग सदस्य जीसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउँदा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था जस्तो शक्तिशाली मन्त्रालय भने प्रकाशबहादुर केसीको भागमा परेको छ । 

एमाले सरकारमा सहभागी भएपछि स्वतन्त्र सांसद दीपक मनाङेको मन्त्रालयको जिम्मेवारी परिवर्तन भएको छ । उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

यसअघि उनी भौतिक पूर्वाधारमन्त्री थिए । मनाङेलाई मन्त्री नै बनाउन नहुने अडान एमालेको थियो । 

तर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई संकटका बेलामा बुहमत जुटाउन साथ दिएकाले उनलाई कुनै हालतमा मन्त्री बनाउने अडान लिएका थिए । त्यसपछि मन्त्रालय फुटाएर भए पनि मनाङेलाई मन्त्रिपरिषद्मा समेटिएको हो ।

उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारीसहित फणिन्द्र देवकोटाले पनि निरन्तरता पाएका छन् ।