काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन् ।
वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्ट पार्टीले लिनुपर्ने बताएका हुन् ।

पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था आएको भन्दै यादवले, ‘साराका सारा युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन १० हजार युवाहरु बाहिर गइरहेका छन्, कामको खोजिमा । गाउँमा युवाहरु भेटिँदैनन् । यो स्थिति बनाउने को हो ? को जिम्मेवार छ ? देशमा शासन, सत्ताको नेतृत्व गर्नेहरु नै हुन् ।’
यादवले युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धि गर्नमा सरकारले चासो नदिइएको जिकिर गरे ।
अध्यक्ष यादवले काँग्रेस र कम्युनिष्टका धेरै नेताहरु भ्रष्टाचारमा जोडिएको आरोप लगाउदै काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दिएको दाबी गरे ।