काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिरमा स्थानीय तहमा हुने उपनिर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ।
पार्टीले भूगोललाई केन्द्रित गर्दै कमिटी गठन गरेको जानकारी पोलिटब्यूरो सदस्य मोहन गौतमले दिएका छन्। उक्त कमिटीमा पार्टीका उपाध्यक्ष‚ उपमहासचिव‚ र सचिव पनि रहेका छन्।
कोशी प्रदेशमा उपाध्यक्ष जगन्नाथ खतिवडा‚ मधेसमा धर्मनाथप्रसाद साह‚ बागमतीमा डा. गङ्गालाल लुलाधर‚ गण्डकीमा पार्टी सचिव श्रीनाथ बराल‚ लुम्बिनीमा उपमहासचिव मेटमणि चौधरी‚ कर्णालीमा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला‚ र सुदूरपश्चिम प्रदेशमा भानुभक्त जोशीलाई संयोजकको जिम्मेवारी तोकिएको छ। पार्टीका विभिन्न विभाग र इन्चार्जसहितका नेताहरूको जिम्मेवारी छिट्टै तोकिने जानकारी गराइएको छ।






































