काठमाडौं- चीनका लागि प्रश्तावित राजदुत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेको निणर्य कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् ।
आइतवार संसदीय सुनुवाईका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिदै प्रस्तावित राजदुत ओलीले परियोजनाबारे सरकारले गरेको निणर्य कार्यान्वयनका लागि राजदुतका रुपमा आफू प्रयत्नशील रहने बताएका हुन् ।

ओलीले नेपालले उत्तर-दक्षिण कनेक्टिभिटी परिचालन गर्नका लागि ट्रान्स हिमालयन कनेक्टिभिटीमा टेकेर पनि अघि बढ्नसक्ने धारणा राखे ।
उनले चिनियाँ पर्यटकहरुलाई नेपाल भित्र्याउने काममा पनि आफू दत्तचित्त भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
चीनमा २१ प्रतिशत बुद्धिष्टहरु रहेको उल्लेख गर्दै प्रस्तावित राजदुत ओलीले उनीहरुलाई नेपालमा धार्मिक पर्यटकको रुपमा भित्र्याउने काममा पनि आफूले सहजीकरण गर्ने बताए ।
तातोपानी भन्सार निरन्तर सञ्चालनमा ल्याउनका लागि आफूले राजदुत हुनेबित्तिकै पहल गर्ने प्रश्तावित राजदुत ओलीको भनाई थियो ।
ओलीले भने, ‘चीनमा २१ प्रतिशत बुद्धिस्टहरु रहेका छन् । अब ती पर्यटकहरुलाई भित्र्याउनका लागि यी अघि मैले भनेका जति पनि कुराहरु छन् । त्यसमा म दत्तचित्त भएर लागेर प्रयत्नशील रहनेछु । तातोपानी भन्सार नियमित रुपमा सञ्चालन गर्ने विषयमा चिनियाँ सरकारसँग तत्काल कुरा गर्नेछु ।’
राजदुत ओलीले लुम्बिनी र पोखरामा चिनियाँ पर्यटकहरुले आफ्नो गन्तव्य बनाउने भएकाले त्यसमा पनि आफूले जोड दिने बताए ।