काठमाडौं- संसदीय सुनुवाई समितिले विभिन्न १७ देशका लागि प्रस्तावित राजदुतहरुमाथि परेको उजुरीहरुको सम्बन्धमा उजुरीकर्ताहरुसँग छलफल गरेको छ । 

संसदीय सुनुवाई समितिको आजको बैठकमा ६ जना उजुरीकर्तामध्ये ५ जना उजुरीकर्ताहरुसँग छलफल गरेको हो । 

OM Sai Pathibhara Hospital

उजुरीकर्ताहरुमा उज्वलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुइँकेल रहेका छन् । 

एक जना उजुरीकर्ताको नाम भने उनको चाहनाअनुसार गोप्य राखिएको समिति सभापति ईश्वरीदेवी न्यौपानले बताइन् । 

अर्का एक जना उजुरीकर्ता कारणवश छलफलमा सहभागी भएका थिएनन् । 

न्यौपानेले भनिन्, ‘९ वटा उजुरी परेकोमा ६ जना आउने कुरा गर्नुभएको थियो । एक जनाको गोप्य थियो । १ जना कारणवश आउन सक्नुभएन । ५ जना उजुरीकर्ताहरु यहाँ आएर आफ्ना उजुरीहरुको सम्बन्धमा त्यसलाई पुष्टि गर्नुभएको छ ’

समितिको बैठकमा उजुरीकर्ता उज्वलकृष्ण श्रेष्ठले १७ देशका लागि सिफारिस राजदुतहरु वाणिज्य दुतमात्रै भएकाले र राजदुतमा सिफारिस व्यक्ति योग्य, अनुभवी र राजनीतिक तथा कुटनीतिक क्षमता एवं ज्ञान नभएकाले फिर्ता गर्नुपर्ने बताए । 

उनले राजदुत नियुक्ति समानुपातिक र समावेशी नभएकाले फिर्ता गर्नुपर्ने माग समेत गरे । 

सुनुवाई समितिले गम्भीरतापूर्वक सुनुवाई गरेर मात्रै राजदुत नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने उनको सुझाव थियो । 

अर्का उजुरीकर्ता मुक्तिनाथ आचार्यले सिफारिस राजदुतमध्ये इजरायलका लागि सिफारिस व्यक्ति प्राध्यापक धनप्रसाद पण्डितमाथि समितिले गहन छलफल र अध्ययन गर्नुपर्ने सुझाव दिएका थिए ।