काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय लगायत देशका कुनै पनि विश्वविद्यालयमा सरकारबाट कुनै हस्तक्षेप नभएको दाबी गरेकी छन् ।

आज प्रतिनिधि सभाको शुन्य र विषेश समयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री भट्टराईले प्रधानमन्त्रीले कुलपतिका हैसियतले निर्देशन दिनेबाहेक अन्य कुनै हस्तक्षेप नगरेको बताइन् ।

OM Sai Pathibhara Hospital

मन्त्री भट्टराईले विद्यमान नियम, कानुन बमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिनुपर्ने भन्दै सो काम आफूहरुले संयुक्त रुपमा गरिरहेको बताइन् ।

‘मैले पनि प्रधानमन्त्रीलाई हस्तक्षेप गर्न गुहारेको छैन’, कानुन बमोजिम कुलपति र सहकुलपतिको हैसियतले आवश्यक निर्देशन दिने काम संयुक्त रुपमा गर्ने गरेको भन्दै उनले भनिन्, ‘विश्वविद्यालयको व्यवस्थापकीय कार्यमा सरकारले हस्तक्षेप गरेको छैन । गर्ने पनि छैन ।’

तर राजनीतिक प्रतिवद्धता र कानुनी शासनलाई विश्वविद्यालयभित्र नस्वीकार्ने हो भने विश्वविद्यालयहरु हस्तक्षेपकारी अवस्थामा पुग्ने उनले बताइन् ।

मन्त्री भट्टराईले उच्च शिक्षा पढ्न विदेश जाने लहर बढिरहेको भन्दै देशमा सबैखाले श्रमिकको सम्मान नहुनु पनि त्यसको कारण भएको उल्लेख गरिन् ।