काठमाडौं- काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा प्रधानमन्त्री र कांग्रेस सभापतिविरुद्ध नाराबाजी गर्ने युवाहरुलाई खोजी गरी पक्राउ गर्न थालिएपछि यस विषयमा संसदमा कुरा उठेको छ । 

समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधि सभाको आजको बैठकमा कुरा उठाएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका युवाहरुलाई तत्काल रिहाई गर्न माग गरेका छन् ।   

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले गौरा पर्वमा टँुडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले भाषण विरोध गरेको भन्दै युवाहरुलाई अराजक शैली भनेर पक्राउ गर्नु गलत भएको बताए । 

उनले युवाहरुको बिरोधको बोलीलाई सरकारले सुन्नुपर्ने जिकिर समेत गरे । स्वदेशमा अवसर र रोजगारीबाट वञ्चित युवाहरुले सिंहदरबार भित्रका बेइमानहरुलाई खबरदारी गरिएको भन्दै सो कारण समाउन नपाइने जिकिर गरे । 

उनले युवाहरुलाई त्रसित नबनाउन आग्रह समेत गरेका छन् । 

‘स्वदेशमा अवसरबाटवञ्चित, रोजगारीबाट बञ्चित बनाइएका ति युवाहरुले सिंहदरबार भित्रका बेइमानहरुलाई खबरदारी गर्दैगर्दा यसरी समाउन पाइदैनँ । ति युवाहरुको तत्काल रिहाको माग गर्न चाहान्छु,’ उनले भने । 

सोमबार गौरापर्वको अवसरमा काठमाडौमा बस्ने सुदुपश्चिमेली समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी हुन कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओली टुँडीखेल पुगेका थिए ।