काठमाडौं- टुँडिखेलमा सोमबार ओली र देउवाविरुद्ध नाराबाजी गर्ने दुई जना पक्राउ परेका छन् । 

गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्ने दुई युवकलाई मंगलबार पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

उनीहरुलाई चाडपर्वको कार्यक्रममा पुगेर नाराबाजी गर्दै बिथोल्न खोजेको आरोपमा पक्राउ गरिएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित कार्यक्रममा युवाहरूले चर्को नाराबाजी गरेका थिए । 

नाराबाजीमा संलग्न अरुमाथि पनि अनुसनधान भइरहेको रजौरेले बताए । विभिन्न मिडयामा आएका भिडिओ र टुँडिखेल वरिपरिका सीसीटीभी फटेजका आधारमा अन्यलाई पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । 

युवाहरूको समुहले नेताहरूप्रति आक्रोशित हुँदै ‘मुर्दावाद’को नारा लगाएका थिए । उक्त शैलीप्रति ओली र देउवा दुवैले कार्यक्रममा सम्बोधनकै क्रममा आपत्ति जनाएका थिए । 

पूरै सम्बोधन ती युवाहरूप्रति आक्रोशित भएका देउवाले अन्तिममा भनेका थिए, ‘अर्काको कार्यक्रम बिथोलेर बसेका छन् । यहाँ को को त्यस्ता छन्, तीनलाई ठिक पार्नुपर्छ । ’ 

गौरापर्वको अवसरमा काठमाडौमा बस्ने सुदुपश्चिमेली समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी हुन देउवा र ओली टुँडीखेल पुगेका थिए ।