काठमाडौं- राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (माओवादी केन्द्र) को सार्वजनिक लेखा समिति सभापति पाउनुपर्ने माग जायज रहेको टिप्पणी गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले प्रमुख प्रतिपक्ष दलको हैसियतमा माओवादी केन्द्रले सो पद माग गर्नु उचित भएको जिकिर गरे ।

अध्यक्ष केसीले आफ्नो पार्टीले पनि प्रतिपक्षी दलको हैसियतमा रहँदा सो पद पाएको स्मरण गराउँदै त्यो नियमको पालना गर्न सत्तारुढ दलहरुसँग आग्रह समेत गरे ।
यस्तै उनले सत्तामा रहँदा भ्रष्टाचारीलाई जोगाउने र सत्ताबाट बाहिरिएपछि त्यसको विरोध गर्ने परिपाटी ठूला दलहरुमा रहेकाले मुलुकमा भ्रष्टाचार बढ्दै गएको दाबी समेत गरे ।
‘सत्तामा छदाखेरी आँखा चिम्लेर परिवारवाद, भ्रष्टाचारीहरुलाई जोगाउने, तिनबाट फाईदा उठाउने, जब सत्ताबाट बाहिर हुन्छ, अनि पानीबाट बाहिर निकालेको माछा जस्तो उफ्रने काम बन्द गर्नुपर्छ ।’ अध्यक्ष केसीले भने ।
उनले संसदीय मूल्य र मान्यता विपरित चल्ने काम पनि ठूला दलहरुबाटै भएकाले यसलाई सुधार गर्नुपर्नेमा जोड दिए ।