काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोट लगायतका जिल्लाहरुमा भूकम्पपछिको पुनर्निर्माण कार्यलाई तिब्रता दिनेगरी आवश्यक जनशक्ति तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले पुनःनिर्माणको काममा ढिलाई नगर्न सरकारलाई सचेत गराए ।

रुकुम पश्चिमको चौरहजारी टार सिंचाई आयोजना तत्काल सुचारु गराउन पनि उपमहासचिव शर्माले सरकारको ध्यानाकर्षण गराएका छन् ।
धानबालीका लागि अति आवश्यक सो सिंचाई बाढी र पहिरोले अवरुद्ध भएकाले त्यसलाई सरकारले तत्काल सुचारु गराउनुपर्ने उपमहासचिव शर्माको भनाई थियो ।
उनले बाढी र पहिरोले जोखिममा परेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने काममा पनि विशेष ध्यान दिन सरकारलाई आग्रह गरे ।
उपमहासचिव शर्माले सरकारले बाढी, पहिरोले जोखिममा पारेका बस्तीका मानिसहरुको सुरक्षित स्थानमा सार्ने काममा ढिलाई गरेकोमा असन्तुष्टि समेत व्यक्त गरे ।