काठमाडौं- विभिन्न देशका लागि प्रस्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया विहिबारबाट सुरु हुने भएको छ ।
सिंहदरबारमा आज बसेको सुनुवाई समितिको बैठकले विभिन्न १७ देशका लागि प्रस्तावित राजदुतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गते विहिबारबाट सुरु गर्ने निणर्य गरेको हो ।

समितिले भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सुनुवाई सम्पन्न गर्ने कार्ययोजना पारित गरेको छ ।
भदौ २१ गते तिज, २२ गते शनिवार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी सुनुवाई सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
उजुरी थोरै भएकाले सुनुवाई प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ । न्यौपानेका अनुसार विहिबार पहिलो दिन ४ जनाको सुनुवाई गर्ने तालिका छ ।
प्रस्तावित राजदुतको सुनुवाई सकिएपछि निणर्य गर्नुभन्दा अघि परराष्ट्र मन्त्रीसँग छलफल गर्ने समितिले जनाएको छ ।
समितिको आजको बैठकमा उजुरीकर्ताहरुको उजुरी खोलि समितिका सदस्यहरुलाई वितरण समेत गरिएको छ । समितिको अर्को बैठक भदौ १४ गते बोलाइएको छ ।