काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीको केन्द्रीय समितिको बैठकले संस्थापक महामन्त्री ढकाललाई निष्कासन गरेको हो । रास्वपाले ढकाललाई दुईपटक स्पष्टीकरण सोधेको थियो । ढकालले सभापति रवि लामिछानेको नैतिकता माथि प्रश्न उठाउँदै ठगको आरोप लगाउँदै आएका छन् ।

उनको जवाफलाई नेताहरुले कुण्ठा व्यक्त गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । यसअघि, २५ असारको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट हटाएको थियो । ढकालले निर्वाचन आयोगमा कारबाहीको वैधता माथि चुनौती दिएका छन्।
यसबीच, निष्कासनमा परेका ढकालले पार्टी सभापति रवि लामिछानेलाई नैतिकताको आधारमा पार्टीको साधारण सदस्यबाट राजीनामा दिन आग्रह गरेका छन् ।
ढकालले लामिछानेलाई नैतिकरूपले पतित पात्रको रूपमा चित्रण गर्दै, न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि उनीमाथि नैतिकताको प्रश्न उठाएका हुन् । सहकारी प्रकरणमा लामिछानेले जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेको आरोप ढकालले लगाएका छन् ।
उनका अनुसार, लामिछानेले आफ्नो विरुद्ध आएका प्रमाणलाई किर्ते भनेर जनतालाई भ्रम छर्ने प्रयास गरेका छन्। ढकालले न्याय सम्पादन प्रक्रियामा खलल पुर्याउने प्रयास भइरहेको भन्दै सम्बन्धित निकायलाई यसबारे ध्यान दिन आग्रह गरेका छन्।