काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौट गर्न निर्वाचन आज गर्ने भएको छ । हिजो सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमति नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्यहरू चयन गर्ने निर्णय गरेको थियो । 

निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरेर प्रक्रिया अघि बढाइसकेको छ । निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष‚ उपाध्यक्ष‚ उपमहासचिव‚ सचिव‚ र कोषाध्यक्षसहित १८ पदाधिकारी र ८४ पोलिटब्युरो सदस्यहरू छानिने छन्। पार्टीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था रहेको छ ।

OM Sai Pathibhara Hospital

निर्वाचन प्रक्रियामा उम्मेदवारी दर्ता‚ दाबी विरोध‚ उम्मेदवारी फिर्ता‚ अन्तिम नामावली प्रकाशन लगायतका कार्यक्रम मङ्गलबार (आज) बिहानदेखि सुरु हुनेछ । मतदान मङ्गलबार दिउँसो २ देखि ५ बजेसम्म हुनेछ भने मतगणना साँझसम्म गरिनेछ । 

केन्द्रीय कमिटीका सदस्यहरूले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउनेछन्। सचिवालय सदस्य‚ स्थायी समिति सदस्य र अन्य संरचनाहरू केही दिनपछि निर्माण गरिने जानकारी गराइएको छ। हाल केन्द्रीय कमिटीमा अध्यक्ष‚ सम्मानित नेता‚ र महासचिव गरी तीन पदाधिकारी रहेका छन् ।