जनकपुर- मधेस प्रदेशको प्रदेश खेलकुद विधेयक समितिबाट पारित भएको छ । 

प्रदेश सभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी पारित गरेको छ । 

OM Sai Pathibhara Hospital

आज जनकपूरधाममा समिति सभापति रूपा यादवको अध्यक्षतामा बसेको बैठकमा विधेयकमाथि दफावार छलफलसहित पारित गर्दै प्रदेश सभामा पेस गर्ने निणर्य गरेको हो । 

विधेयकमा प्रदेश खेलकुद परिषद् गठन, जिल्ला खेलकुद विकास समितिको गठन, खेलाडीको वृत्तिविकास, सेवासुविधा, व्यावसायिक सुरक्षा बीमा, खेलकुद प्रशिक्षण प्रतिष्ठान, खेलकुद प्रतियोगिता लगायत विषय समावेश गरिएको छ । 

आज बिदाको दिन भएपनि विधेयकको महत्वलाई दृष्टिगत गरी छलफल गरिएको समिति सभापति यादवले बताए ।

समितिका सदस्य रामसरोज यादवले विधेयकमा स्थानीय तहदेखि अन्तर्राष्ट्रियस्तरसम्म खेलाडी उत्पादन गर्नेगरी कानुनी व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए ।