काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सही कुरालाई अघि बढाउने संकल्पका साथ बनेको बताएका छन् । 

अहिलेको सरकार एउटा सरकारको ठाउँमा अर्को सरकारको रुपमा नआई एउटा प्रवृत्तिको ठाउँमा अर्को नयाँ प्रवृत्तिका रुपमा गठन भएको दाबी गरे । 

OM Sai Pathibhara Hospital

वर्तमान सरकार अस्थिरताको ठाउँमा स्थिरता, विभिन्न खालका बेठिक प्रवृत्तिको ठाउँमा ठिक प्रवृत्ति र ठिक प्रवृत्तिलाई अगाडि बढाउने संकल्पका साथ अघि बढेको प्रधानमन्त्री ओलीको भनाई छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंको सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै उनले अपराध हुनै नदिने कुरामा ध्यान दिन नेपाल प्रहरीलाई निर्देशन दिए । 

अपराध कसैले गराउन खोजेको छ भने त्यसलाई पहिले नै पत्ता लगाउने र नियन्त्रण गर्नेगरी प्रहरीलाई काम गर्न सचेत गराउँदै प्रधानमन्त्री ओलीले त्यस काममा सरकारले कुनैपनि खालको हस्तक्षेप नगर्ने जिकिर गरे । 

‘अपराधको रोकथाम, अपराध हुनै नदिने पहिलो कुरा । यसलाई हामीले छानविन, अनुसन्धान भन्दा कम महत्व दिनु हुँदैन । अपराध हुनै नपाओस भन्ने कुरामा ध्यान दिन, त्यसका निम्ति म तपाईहरुलाई सुझाव भन्न चाहन्छु-पुरानो घुमुवाको तरिकाबाट कुनै पनि उपलब्धि हुनेवाला छैन’, उनले भने । 

उनले अपराध गर्नेहरुलाई पहिले नै सचेत बनाउने गरी अभियान चलाउन सकिए समाजमा अपराधिक घटना हुन नपाउने उल्लेख गर्दै त्यस अभियानमा प्रहरीले चनाखो भएर अघि बढ्नुपर्ने धारणा राखे ।