भरतपुर- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नताको आरोप पुष्टी नहुने गरी छानबिन समितिलाई कागजपत्र बुझाएको बताएका छन् ।
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफ्नो संलग्नताका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए ।

’आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो,’ उनले भने, ’त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु ।’
सभापति लामिछानेसँग समितिले हिजो १० घण्टा लामो बयान लिएको थियो । उनले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी भएको समेत बताए ।
सभापति लामिछानेले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले लगाएको आरोपबारे समयले बताउँदै जाने उल्लेख गरे ।