काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आउने अमर्यादित अभिव्यक्ति वाक स्वतन्त्रताभित्र नपर्ने बताएका छन् । 

आज काठमाडौँमा भएको युथ कन्क्लेभ कार्यक्रममा कलाकार सुमन कोइरालाले सोधेको वाक स्वतन्त्रता के हो भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले निर्वाध सत्य कुरा सहि ढंगले देशका लागि जनताका लागि बोल्न पाउने कुरा नै वाक स्वतन्त्रता भएको बताए । 

उनले भने- ‘वाक स्वतन्त्रताका नाममा आजकाल सामाजिक सञ्जालहरुमा जे आइरहेको छ, हेर्न नसकिने, सुन्न नसकिने खालको जे आइरहेको छ यो वाक स्वतन्त्रता होइन, त्यसको दुरुपयोग हो ।’ प्रधानमन्त्रीले भने । 

उनले वाक स्वतन्त्रता भनेको सत्य कुरा बोल्न कसैले रोक्न नपाउने कुरा भएको उल्लेख गरे । आफूलाई त्यो किन सत्य लाग्यो भन्नेमा पनि जिम्मेवार हुनुपर्ने प्रधानमन्त्रीको भनाई छ । 

उनले अनुमानका आधारमा कसैले कसैको परिवार विग्रिनेगरी, जिवन विग्रनेगरी बोल्ने हो भने समाज भाँडिने तर्क गरे ।