काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पार्टीको अध्यक्ष भइरहने कुनै चाहना नभएको बताएका छन्। बागमती प्रदेश परामर्श समितिको दुई दिन चलेको बैठकलाई विहीबार समापन गर्दै अध्यक्ष प्रचण्डले बसिरहने चाहना नभएको तर स्वाट्टै  छाड्न भने तयार नभएको बताएका हुन्।

‘मलाई अब यो पार्टीको अध्यक्ष भइरहने कुनै चाहना छैन। ३६ वर्षदेखि निरन्तर नेतृत्वमा छु। तर मेरो नेतृत्व आनन्ददायीमात्रै रहेन। आँधिमय रह्यो। युद्धभन्दा बाहेक पनि उथलपुथलमय नेतृत्व गरेँ मैले,’ प्रचण्डले भने, ‘प्रचण्डलाई प्रभाकरले यसो भन्नेरु भन्ने लाग्न पर्दैन। किनकी प्रचण्ड अध्यक्षभन्दा माथि छ। म स्वतः माथि छु। यो तपाईंहरू सबैले बनाएको हो। पुष्पकमल दाहालले बनाएको हैन।’ उनले आफू नेतृत्व छोड्ने पक्षमा रहेपनि अहिले नै छाड्न नसक्ने बताए।

OM Sai Pathibhara Hospital

‘तर म एकैचोटि स्वाट्टै नेतृत्व छोड्न चाँहि चाहन्न। पहिला सिस्टम र सेट बनाएरमात्रै नेतृत्व छोड्न उपयुक्त होला,’ उनले भने। उनले बाहिरका साथीहरूले अहिले नै नेतृत्व नछाड्न आफूलाई आग्रह गरेको पनि बताए।

‘बाहिरका साथीहरूले मलाई अहिले नै अध्यक्ष नछोड्नुस भन्छन्। प्रचण्ड भावुक छ। प्रश्न उठेपछि छाडिदिन्छ भन्ने गएको छ,’ प्रचण्डले भने,‘ती सबैलाई समेटेर जानुपर्छ। त्यसैले अहिले मैले छाड्दिन। तर मृत्यु शैय्यामा घ्यारघ्यार गरेर पनि नेतृत्व गरिराख्ने कुरा ठीक होइन।’