काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले हालै गरेको भारतको औपचारिक भ्रमणबारे पार्टी केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन्। कांग्रेस केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सांसदसमेत रहेकी मन्त्री राणाले शुक्रबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन्। उनले गत आइतबारदेखि बिहीबारसम्म भारतको औपचारिक भ्रमण गरेकी थिइन्।

‘दुई ठूला पार्टी (कांग्रेस-एमाले) मिलेर सरकार बनाएकोमा कस्तो रेस्पोन्स हुन्छ भन्ने थियो, यसमा राम्रो रेस्पोन्स भएको जानकारी गराउँछु,’ परराष्ट्र मन्त्री राणाले केन्द्रीय समितिमा गरेको ब्रिफिङ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘लक्किली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग पनि भेट भयो।’

OM Sai Pathibhara Hospital

परराष्ट्र मन्त्री राणाले भदौ ३ गते भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन्। नेपालको विकासमा सहयोग गर्न तयार रहेको भारतीय प्रधानमन्त्री मोदीको भनाइ रहेको परराष्ट्र मन्त्री राणाको भनाइ छ।

परराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री केपी शर्माका तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र उपयुक्त समयमा भ्रमण गर्ने जानकारी पाएको समेत ब्रिफिङ गरेकी छन्।

सोही दिन उनले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन्। भारतीय विदेश मन्त्री जयशंकरको निम्तोमा परराष्ट्र मन्त्री राणाले भारको भ्रमण गरेकी थिइन्।