प्रधानमन्त्री शेख हसिनाको १५ वर्ष लामो शासन ढाल्ने गरी बंगलादेशमा भएको आन्दोलनमा यसपालि नदेखेका धेरै दृश्य देखिए । ठूलो सङ्ख्यामा महिलाहरू विरोध प्रदर्शनमा सहभागी भएको र नाराबाजी गरेको धेरैतिर देखियो।

“विरोधप्रदर्शनहरूमा महिला तथा किशोरीहरूको सहभागिता अभूतपूर्व थियो,” ढाकास्थित नोर्थ साउथ यूनिभर्सिटीका राजनीतिशास्त्री तथा समाजशास्त्री डा. बुलबुल सिद्दिकीले भने।

OM Sai Pathibhara Hospital

सरकारविरुद्ध केही प्रदर्शन आयोजना गर्न सघाएकी एकल महिला तथा व्यावसायिक बडीबिल्डर फरजाना लीओको विचारमा ठूलो स्तरमा महिलाहरूको सहभागिता नभइदिएको भए शेख हसिनालाई सत्ताच्युत गर्ने गरी आन्दोलन सफल नहुन पनि सक्थ्यो।

उनी ४३ वर्षकी छिन् र यसअघि राजनीतिक रूपमा सक्रिय थिइनन्। तर युवा प्रदर्शनकारीहरूमाथि सरकारी सुरक्षाकर्मीहरूले गोली चलाएको देखिने भिडिओ हेरेर उनी स्तब्ध भइन्।

“मलाई लाग्यो सडकमा जानु र उनीहरूको रक्षा गर्नु मेरो नैतिक उत्तरदायित्व हो,” मिरपुरस्थित आफ्नो व्यायामशालामा कुरा गर्दै उनले भनिन्।

मिरपुर सरकारविरोधी प्रदर्शनका मुख्य केन्द्रहरूमध्ये एक थियो।

'देश बचाउने जिम्मेदारी'

सडकमा निस्केका युवाहरूबाट पनि उनी प्रभावित भएकी थिइन्। महिलाहरू पनि प्रदर्शनमा सहभागी हुन सुरु गरेपछि त्यसले अरू महिला तथा पुरुषहरूमा आँट जुटाउन सहयोग गर्‍यो।

“जब छोराछोरीले आफ्ना आमाबाट सहयोग पाउँछन् तब छोराछोरी बहादुर बन्न पुग्छन्,” उनले भनिन्।

“आमाले भनेका कुरा छोराछोरीले सुन्छन् पनि। ‘यदि तिमीहरू लड्दैनौँ भने देश कसले बचाउँछ?’ यो साहस घरबाट आउनुपर्छ,” उनले थपिन्।

Forjana_Leo_Bangaladesh

फरजाना लीओ

सरकारी जागिरमा आरक्षण हटाउनुपर्ने मागसहित विश्वविद्यालयका विद्यार्थीहरूले जुलाई महिलाको सुरुतिर शान्तिपूर्ण विरोधप्रदर्शन थाले। तर पछि त्यो सरकारविरोधी एउटा व्यापक आन्दोलनमा परिणत भयो।

राष्ट्रसङ्घीय मानव अधिकार कार्यालय (ओएचसीएचआर) को प्रारम्भिक प्रतिवेदनअनुसार जुलाई १६ देखि अगस्ट ११ तारिखको अवधिमा करिब ६५० जनाले ज्यान गुमाए।

उसका अनुसार मारिनेमा प्रदर्शनकारी, बटुवा, पत्रकार र सुरक्षाकर्मीलगायत छन्।

सोह्र वर्षीया रिदिमा अहमद र उनका साथीहरूलाई शेख हसिनाको अवामी लीग पार्टीप्रति बफादार सशस्त्र समूहका सदस्यहरूले अवरोध गर्न खोजे। तर उनीहरूले प्रदर्शनमा जान छोडेनन्।

छोरी र उनका साथीहरूलाई रोक्ने प्रयास गर्नुको साटो रिदिमाकी आमा साइमा पनि आन्दोलनमा जान थालिन्।

“सबैका बच्चा आफ्नै बच्चाजस्तै हुन्छन्, आमाको माया भनेको यही त हो,” उनले भनिन्।

जो सुरक्षाकवच बने

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार  “शान्तिपूर्ण प्रदर्शनकारी होऊन् अथवा घरेलु हातहतियारसहित आएका प्रदर्शनकारी होऊन्- प्रहरी र अर्धसैनिक फौजहरूले प्रत्यक्ष गोली प्रहारसहित निरन्तरजसो अन्धाधुन्ध बल प्रयोग गरेको देखियो।”

उसका अनुसार गैरन्यायिक हत्या, स्वेच्छाचारी गिरफ्तारी तथा थुनामा राखिएका, बेपत्ता पारिएका र यातना दिइएका भन्ने आरोप लगाइएका रिपोर्टहरू छन्।

थुनामा रहेका बेला घाइते बनाइएका भनिएका प्रदर्शनकारीहरूका आमाबुवासँग पनि बीबीसीले कुराकानी गरेको छ।

Bangaladesh_Women_1

यद्यपि तात्कालिक सरकारको दाबीअनुसार आत्मरक्षा अथवा सरकारी सम्पत्तिको सुरक्षा गर्नुपर्ने अवस्थामा मात्र सुरक्षाकर्मीबाट गोली चलाइएको थियो। यातना दिइएको कुरालाई भने निरन्तर अस्वीकार गरिएको छ।

बालकालिकासम्बन्धी राष्ट्रसङ्घीय निकाय यूनिसेफका अनुसार प्रदर्शनका क्रममा ३२ बालबालिका मारिएका छन्।

बंगलादेशको एउटा पत्रिकाले त प्रदर्शनका क्रममा ६६ बालबालिका मारिएका जनाएको छ।

“उनीहरूलाई जसरी यातना दिइँदै र मारिँदै थियो, त्यो टुलुटुलु हेरेर एउटी कसरी घरभित्र बस्न सक्थिन्?” साइमाले थपिन्।

“धेरै महिला तथा किशोरीहरू आफ्ना छोराछोरी एवं दाजुभाइका लागि सुरक्षाकवच भनेर प्रदर्शनको अग्रपङ्क्तिमा उभिए,” डा सिद्दिकी भन्छन्।

प्रदर्शनका क्रममा सार्वजनिक रूपमा महिलाहरूमाथि आक्रमण नहोला भन्ने बुझाइएका आधारमा पनि त्यसो भएको उनको ठम्याइ छ। यद्यपि “त्यो रणनीतिले काम नगरेको” डा सिद्दिकी बताउँछन्।

उनका अनुसार मध्यजुलाईमा आन्दोलन चर्केपछि महिलाहरूमाथि पनि आक्रमण भयो र केही महिला गम्भीर घाइते पनि भए।

बंगलादेश बन्नुअघिका राजनीतिक आन्दोलनहरूमा पनि महिलाहरू सहभागी भएको डा सिद्दिकी स्मरण गर्छन्। उनका अनुसार ब्रिटिश शासनका बेला उपनिवेशविरोधी आन्दोलन एवं सन् १९५२ मा बङ्गाली भाषाको मान्यताका लागि गरिएका आन्दोलनमा महिलाहरूको सहभागिता थियो।

तर ती आन्दोलनसँग अहिलेको आन्दोलनलाई तुलना गर्न नमिल्ने उनको तर्क छ। किनभने अहिलेको आन्दोलनमा महिलाहरूको ठूलो सहभागिता रह्यो।

उनी भन्छन्, "परिवार भित्रबाट केटीहरूलाई बढ्दो सहयोग, ठूलो सङ्ख्यामा युवतीहरूको उच्च शिक्षामा संलग्नता, सामाजिक सञ्जालमार्फत्‌ सूचनामा पहुँचले एउटा पुस्ता निर्माणमा मद्दत पुगेको छ जुन पुस्ता अघिल्ला पुस्ताहरूभन्दा निकै आत्मविश्वासी बनेका छन्।"

Bangaladesh_1

शेख हसिना पदच्युत भएको र शरणका लागि भारत पुगेको दुई साताभन्दा बढी समय भएको छ।

नोबेल पुरस्कार विजेता प्राध्यापक मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व गरेका छन्।

ढाकामा लगभग जनजीवन सामान्य बनेको छ। तर विद्यार्थीहरू अझै सडकमा छन्।

उनीहरूमध्ये कतिपयले लोकतन्त्र, धार्मिक सहिष्णुता एवं न्यायको नारासहित भित्तेचित्र बनाइरहेका छन्।

त्यसमा विश्वविद्यालयकी एक २४ वर्षीया छात्रा साल्वा सराह पनि छिन्। “हामी भ्रष्टाचारमुक्त देश चाहन्छौँ। हाम्रा विचारको सम्मान हुनैपर्छ,” उनले भनिन्।

तेइस वर्षीया अर्की छात्रा तान्जिना आफ्रिन चुनावमार्फत्‌ आफ्ना नेता छान्न पाउने वातावरण बनोस् भन्ठान्छिन्।

“निर्णय प्रक्रियामा हाम्रो आवाज सुनिनुपर्छ। युवा पुस्ताका आशा एवं आकाङ्क्षालाई सरकारले अनुभूत गर्नुपर्छ,” उनले थपिन्।

बीबीसी/अकबर हुसैन