काठमाडौँ- नेकपा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेशको परामर्श समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल नेतृत्व नछोड्ने बताएका छन् ।  दुई दिनदेखि जारी बैठकलाई समापन गर्ने क्रममा सम्बोधन गदै प्रचण्डले नेतृत्व सहज रूपमा नजन्मने भन्दै तत्काल आफूले नेतृत्व छोड्ने अवस्था नरहेको बताएका छन् ।

प्रचण्डको भनाइ भन्दै एक सदस्यले भने, ‘नेतृत्व सहज रूपमा जन्मदैन । प्रचण्डले केही गरेन भन्ने छ त्यो होइन । प्रचण्ड गतिशील हो । लामो समयदेखि नेतृत्वको बारेमा कम्युनिस्ट पार्टीभित्र बहस छलफल हुँदै आएको हो । नेतृत्व संघर्ष गर्दै आएको हो । आँधीबेरी झेल्दै आएको प्रचण्ड हो । विस्तारै नेतृत्व हस्तान्तरण गर्ने गरी जानुपर्छ ।’

OM Sai Pathibhara Hospital

प्रचण्डले बैठकबाट आएका सल्लाह सुझावले केन्द्रीय समितिको बैठकमा दस्तावेज लेख्न खुराकको रूपमा आएको बताएको एक केन्द्रीय सदस्यले बताए । ती सदस्यले भने, ‘अध्यक्षले बैठकमा आफूले सोचेभन्दा राम्रो भएको भन्नुभयो । सबै सदस्यका सल्लाह सुझाव समेटेर दस्तावेज लेख्ने बताउनुभयो । बैठकले पार्टी बनाउन सकिन्छ, बनाउनुपर्छ भन्ने भाव दिएको छ ।’

बैठकमा उपमहासचिव जनार्दन शर्माले पनि आफूलाई पार्टी छोडेर जान्छ, अर्को पार्टीमा जान्छ भन्दा अप्ठेरो परेको बताएका थिए । उनले आफूलाई पार्टी बनाउने, नेतृत्व रक्षा गर्नेभन्दा पनि पार्टी विरोधी जस्तो गरी बाहिर हल्ला गरेकाले जवाफ दिँदादिँदा हैरान भएको बताए । 

बिहीबार बोल्ने अधिकांश नेताहरूले पार्टीमा समस्या छ । समस्या समधान गर्न विधि, विधान र आचरणमा सुधार गर्नुपर्ने धारणा राखेका छन् । 

शर्माको प्रस्तावले पार्टीमा तरंग ल्याउदा बाहिर राम्रो सन्देश नगएको भन्दै केही सदस्यहरूले अध्यक्षको बचाउ गरेका थिए । एक जना बोल्ने सदस्यले 'उपमहासचिवको प्रस्तावले बाहिर जसरी तरंग ल्याएको थियो त्यो ठीक भएन, न महाधिवेशन न सम्मेलन यस्तो समयमा किन प्रस्ताव ल्याउनुपर्‍यो' भन्दै शर्माको आलोचना गरे । 

प्रचण्डले बैठकमा पार्टी फुट्छ, फुटाउँदैछ भन्ने कुरा करिब करिब हल भएको बताएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनले भने, ‘अध्यक्षले खारेज भइसक्यो भन्नुभएको छ । त्यसमा हाम्रो सहमति छ ।’