काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने भएका छन् । 

बुधबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूलाई भदौ सात गतेको बैठकमा बोलाएको भन्दै उक्त मितिमा बयान दिन जान लागेको  बताएका हुन् । 

OM Sai Pathibhara Hospital

‘समितिले मलाई भदौ ७ गते बोलाएको छ । म त्यहाँ जान्छु’, लामिछानेले बैठकमा गराएको जानकारी उधृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘गएर आफ्ना कुराहरू म ढुक्कसाथ राख्छु ।’  पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप छ । 

यसैगरी रास्वपाले महामन्त्री मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरणका लागि मौका दिएको छ । उनलाई यसअघि रास्वपाले साधारण सदस्यबाहेक अन्य पदीय जिम्मेवारीबाट मुक्त गरेको थियो ।

‘केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई पार्टी विधानको धारा ५६ ४ बमोजिम अन्तिमपटक स्पष्टीकरणको मौका दिने’, रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘यसअघि उहाँलाई सचिवालयले मौका दिएको थियो अहिले केन्द्रीय समिति बैठकले अन्तिम मौका दिएको छ । 

बुधबारकै बैठकले स्थानीय तहको आसन्न उपनिर्वाचन भाग लिने निर्णय पनि गरेको छ ।  साथै बैठकले बन्द कार्यशालाबाट सिफारिस भएअनुसार पार्टीको पहिलो राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ । 

केन्द्रीय समितिले विधानको धारा ९५ ३ अनुसार धारा २३ ले परिकल्पना गरेको केन्द्रीय परिषद् गठन गर्ने र राष्ट्रिय भेलामा परिषद्का साथै पालिका र निर्वाचन क्षेत्र समितिका प्रतिनिधि एवम् प्रदेश समिति, प्रदेश विभाग, गत संसदीय निर्वाचनका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू सहभागी हुने गरी प्रतिनिधि तोक्ने निर्णय गरेको छ ।