काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा गैरआवासीय नेपाली नागरिक (एनआरएन) लाई पनि अनुसन्धान गर्ने प्रस्ताव राखेको छ । 

भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमा अख्तियारले यस्तो प्रावधान राख्नुपर्ने प्रस्ताव गरेको हो ।

OM Sai Pathibhara Hospital

बुधबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव फणीन्द्र गौतमले अख्तियारले गैरनेपाली र गैरआवासीय नेपाली नागरिकलाई समेत विधेयकमा समेट्नुपर्ने प्रस्ताव गरेको बताए ।

अख्तियारले दिएको सुझावको पहिलो बुँदामै यस सम्बन्धी प्रस्ताव छ । ‘यो ऐन नेपाल राज्यभर लागू हुनेछ र नेपाल बाहिर जहाँसुकै रहे बसेका नेपाली नागरिक, राष्ट्रसेवक र यस ऐन बमोजिम भ्रष्टाचार गरेको मानिने कुनै काम गरी विदेशमा बस्ने गैरनेपाली र गैआवासीय नेपाली नागरिकलाई समेत लागू हुनेछ’, अख्तियारको प्रस्ताव छ ।

अख्तियारले प्रस्ताव गरेको यो विषयमा राज्य व्यवस्था समितिमा औपचारिक छलफल सुरु भएको छैन, सांसदहरुले प्रारम्भिक प्रतिक्रिया मात्र जनाएका छन् ।