काठमाडौं- नेकपा माओवादी केन्द्रले आन्तरिक सर्कुलर जारी गरेको छ । पदाधिकारी र स्थायी समिति बैठकपछि जारी सर्कुलरमा जतिबेला पनि सडकमा जानुपर्ने हुन सक्ने उल्लेख गरिएको छ ।

खासगरी संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले को सत्ता सहकार्यबाट बनेको पछिल्लो सरकारले राष्ट्रिय अस्मितालाई कमजोर बनाउने काम गरिरहेको र त्यसविरुद्ध पार्टी जतिबेला पनि सडकमा जानुपर्ने हुन सक्ने भन्दै तयार रहन भनिएको छ ।

OM Sai Pathibhara Hospital

सुशासन, सामाजिक न्याय, आर्थिक विकास र प्राप्त उपलब्धिहरूको रक्षा गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध काम गरिरहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने र प्रतिगमनमा विश्वास गर्नेहरूको संलग्नतामा सरकार बनाइएको भन्दै माओवादीले जतिबेला पनि सडकमा जानुपर्ने हुन सक्ने भन्दै सर्कुलर जारी गरेको हो ।

पार्टी-पङ्क्तिलाई सचेत गराउनका लागि सर्कुलर जारी गरिएको माओवादी महासचिव देवप्रसाद गुरुङले नेपालभ्युजसँग बताए । “पार्टी(पङ्क्तिको सचेतताका लागि सर्कुलर जारी गरिएको छ,” उनले भने, “पछिल्लो राजनीतिक परिवर्तनपछि कसरी अगाडि बढ्ने भन्नेबारेमा सर्कुलर जारी गरिएको हो ।”

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा संविधान संशोधनबारे पार्टीका तल्ला कमिटीहरूलाई आधिकारिक जानकारी गराइएको छ । पछिल्लो सरकारले गर्ने भनेको संविधान संशोधनलाई राम्रोसँग हेर्नुपर्ने र परिआए प्रतिवाद गर्नुपर्ने भनिएको छ ।

कांग्रेस-एमाले मिल्तीपछि बनेको सरकारले संविधान संशोधनलाई आफ्नो प्रमुख मुद्दा बनाएको छ । ठीक त्यहीबेला कांग्रेस(एमालेका निर्णायक नेताहरूले थ्रेसहोल्ड १० प्रतिशत पुर्‍याउनुपर्ने, समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्नेलगायतका विषयमा पनि अभिव्यक्ति दिइरहेका छन् ।

माओवादीले भने यसप्रति आशङ्का व्यक्त गर्दै आएको छ । यिनै विषयहरूबारे जानकारी गराउँदै माओवादीले सर्कुलरमार्फत तल्ला कमिटीलाई जागरुक बनाउन र सतर्क रहन भनेको हो ।

माओवादीले पदाधिकारी र स्थायी समिति बैठकमार्फत जनतामा जाने निष्कर्ष निकालेको छ । त्यसका लागि प्रदेशमा परामर्श बैठक गर्ने र केन्द्रीय कमिटी बैठकपछि ठोस कार्यक्रम लिएर जनतामा जाने निर्णय गरेको छ ।

९ वर्षपछि अनपेक्षित रूपमा प्रतिपक्षमा बेञ्चमा पछारिएपछि होश खुलेको माओवादीका नेताहरूले पपुलारिटीको सन्दर्भमा २०६४ सालतिरै फर्किने बताइरहेका छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीले ३१ लाख मत ल्याएको थियो ।

तर, त्यसपछि ७०, ७४ हुँदै ७९ मा आइपुग्दा माओवादी पौने १२ लाख मतमा सीमित भएको छ । पछिल्लो संसदीय निर्वाचनपछि पनि डेढ वर्ष सत्ताको नेतृत्व गरेको माओवादीले अब जनतामा जानु नै अन्तिम विकल्प मानेको छ । अध्यक्ष प्रचण्डले यही दोहोर्‍याउँदै आएका छन् ।