काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्सि बुधबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।  सभापति रवि लामिछानेको निर्देशनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय सदस्यलाई बैठकका लागि बोलाएका हुन् । एक केन्द्रीय सदस्यका अनुसार, बैठक बुधबार बिहान ११ बजेपछि काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकका एजेण्डाबारे केन्द्रीय सदस्यलाई पछि जानकारी गराउने गरी सूचना पठाइएको छ । रास्वपाले असोजमा काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । केन्द्रीय समितिमा यो विषय पनि एजेण्डा हुन सक्ने बताइएको छ । 

OM Sai Pathibhara Hospital

यसबाहेक बैठकमार्फत पूर्वमहामन्त्री मुकुल ढकाललाई थप कारबाही गर्ने तयारी रहेको बुझिएको छ ।  ३० साउनमा बसेको केन्द्रीस्य समिति बैठकले ढकाललाई साधारण सदस्यबाटै किन नहटाउने भनी स्पष्टीकरण सोधेको थियो, जसमा रास्वपाले २४ घण्टाभित्र जवाफ बुझाउन भनेको थियो । 

गत २५ असारमा केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, कार्यवाहक प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट बर्खास्त गरेको थियो । कारबाहीविरुद्ध ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगले यसमा निर्णय गरिसकेको छैन ।