काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न चरणमा भएका मधेस आन्दोलनका दौरान आन्दोलनकारीहरू माथि लगाइएका मुद्दाहरू खारेज गर्न माग गर्ने निर्णय गरेको छ । जसपा नेपालको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । 

निर्णयहरू सार्वजनिक गर्दै जसपा नेपालले मधेस आन्दोलनका क्रममा समातेर बन्दी बनाइएकाहरूको रिहाइका साथै रोक्का गरिएका जग्गा, धन–सम्पत्तिलाई फुकुवा गरिन पनि माग गरेको छ । 

OM Sai Pathibhara Hospital

निर्णयमा भनिएको छ, ‘आफ्नो पहिचानको आन्दोलनमा लागेका आदिवासी जनजाति, लिम्बुवान किराँत आन्दोलनकारी माथि लगाइएका मुद्दाहरू सरकारले फिर्ता लिई समस्याको न्यायोचित समाधान गरिनुपर्दछ ।’

शहीद परिवारहरूको भरण–पोषण, शिक्षा स्वास्थ्य उपचार आदिको व्यवस्था गर्न माग गर्दै जसपा नेपालले विगतमा प्रहरीद्वारा आन्दोलनरत व्यक्तिहरूको गैरन्यायिक हत्या गरिएको थियो यसरी हत्या भएका आन्दोलनकारीलाई शहीद घोषणा गर्न माग गरेको छ । 

जसपा नेपालले प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ बमोजिम प्रदेश सरकारहरूलाई प्रहरी हस्तान्तरण गरिनुपर्ने माग गर्दै संघीय निजामती ऐन संसद्बाट पारित गरी कर्मचारी समायोजन सम्बन्धी बाँकी कार्यहरू सम्पन्न गर्न माग गरेको छ । 

प्रदेश सरकारको मन्त्रालय सङ्ख्या घटाउन माग गर्दै उनले आवश्यक ऐन निर्माण गरी संविधानको अनुसूची ६ र ७ को अधिकार सूचीअनुसारका प्रदेशहरूलाई अधिकार, श्रोत र साधन प्रदान गर्न पनि माग गरेको छ ।