काठमाडौँ-भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालक पुरुष भएको प्रहरीले बताएको छ । मृतक करिब ४०–४५ वर्षीय पुरुष भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले  बताए । 

स्कुटर चालकको साथमा उत्तम कोइरालाको ब्लुबुक फेला परेको छ । स्कुटर चालक उनी नै हुनसक्ने आकलन गरिएको तर, सनाखत गर्ने प्रयास भइरहेको डीएसपी कार्कीले बताए । 

OM Sai Pathibhara Hospital

ना।६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा।४९ प ८९४४ नम्बरकको स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । स्कुटर चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

ट्रक र स्कुटर दुवै काठमाडौँबाट भक्तपुर जाँदै थिए । दुर्घटनामा मृत्यु भएकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । ट्रक सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगञ्जमा लगेर राखिएको छ ।

२२ राउण्ड अश्रुग्याँस प्रहार 

घटना भएपछि सुरु भएको प्रदर्शन साम्य पार्न २२ राउण्ड अश्रुग्याँस प्रहार गरिएको प्रहरीले जनाएको छ । ना।६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्करबाट बा।४९ प ८९४४ नम्बरको स्कुटर चालकको मृत्यु भएपछि गठ्ठाघर क्षेत्रमा प्रदर्शन भएको थियो । 

दुर्घटनापछि सुरु भएको विरोध तथा हुलदंगा नियन्त्रणमा लिन २२ सेल अश्रुग्याँस हवाई फायर गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले  बताए । ट्रक चालक सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

स्कुटर प्रहरी वृत्त थिमीमा र ट्रक सशस्त्र प्रहरी गण नम्बर–२ महराजगञ्जमा लगेर राखिएको छ । प्रदर्शन नियन्त्रणमा लिन एसपी बेद विष्टको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्रको टिम समेत परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।