काठमाडौं—  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सम्पन्न हुने भएको छ। 

एक सातादेखि जारी बैठकमा नेतृत्वको कार्यशैली, पार्टी संरचना, नीति र विधिबारे उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएर आज बैठक सम्पन्न गर्न लागिएको हो। 

OM Sai Pathibhara Hospital

स्थायी कमिटी सदस्यहरूले राखेका धारणा र चासोका आधारमा आज प्रचण्डले जवाफ दिएर बैठक सम्पन्न गर्ने तयारी रहेको कोषाध्यक्ष एवं पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु हुनेछ। 

गत शुक्रबार शुरु भएको बैठकमा पार्टीको सांगठनिक अवस्था, देशको अवस्था तथा अन्तर्राष्ट्रिय राजनीति बारेसमेत छलफल भएको थियो । बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तन गर्ने प्रस्ताव अघि सारेका थिए। उहाँले अध्यक्षसहित सबै पदाधिकारीले नेतृत्व छोड्नुपर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए। 

यो विषयमा समेत अध्यक्ष प्रचण्डले आज जवाफ दिनेछन्। यस्तै आगामी कार्ययोजना एवं केन्द्रीय कमिटी बैठकबारे पनि आज निर्णय गर्ने ढकालले जानकारी दिए।